MrJazsohanisharma

आफ्नो जरा बिर्सेर उड्न खोज्ने छोराको नेपाली कथा |भाग-३ | Nepali Moral Story


आफ्नो जरा बिर्सेर उड्न खोज्ने छोराको नेपाली कथा |भाग-३ | Nepali Moral Story

भाग-२ का लागि : Click Here

हर्का राम र देवी कुमारीले आफ्नो योजना कार्यान्वयनमा ल्याउन थाली सकेका थिए। उनीहरूले चितवनको एउटा सुन्दर ठाउँमा जमिन किने र त्यहाँ एउटा आलिशान घर बनाउन तर्पर सुरु गरे। यो घर उनीहरूको सपनाको प्रतिबिम्ब थियो, “सानो तर सुविधायुक्त कोठाहरू, फराकिलो आँगन, र वरिपरि हरियाली बगैंचा”। उनीहरूले आफ्नो सम्पत्तिको आधा हिस्सा दान गर्ने प्रक्रिया पनि सुरु गरे। चितवनका स्थानीय स्कूल र विद्यार्थीहरूलाई छात्रवृत्ति दिने उद्देश्यले एउटा कोष को स्थापना गरियो, जसको नाम राखियो "हर्का-देवी शैक्षिक कोष"। यो खबरले गाउँमा उनीहरूको सम्मान झनै बलियो बनाईरहेको थियो। मानिसहरू उनीहरूलाई उदार र निःस्वार्थ व्यक्तिको रूपमा हेर्न थाले।


नेपाली कथा


यता अरुणले बुवाआमाको यो कदमको बारेमा थाहा पायो। उसले चितवनमा बनेको नयाँ घर र दानको कुरा सुनेर,उसको मन आगो झैँ बलिरहेको थियो। "यो त मेरो सम्पत्ति पनि हो, यसमा मेरो नि हक छ! उनीहरूले मलाई बेवास्ता गरेर कसरी यस्तो गर्न सक्छन्?" उसको मुख रिसले चुर भयो।


 

उसले राधिकालाई फोन गरेर सबै गुनासो पोख्यो। राधिकाले उसलाई उक्साउँदै भनिन्, "अरुण, तिमी चुप लागेर बस्नुहुन्न। यो तिम्रो हकको कुरा हो। तिमीले कानुनी लडाइँ लड्नुपर्छ।" राधिकाको कुराले अरुणको घमण्ड र लोभलाई झनै बलियो बनायो। उसले तुरुन्तै काठमाडौंको एक नामी वकिललाई भेट्यो र आफ्नो बुवाआमाविरुद्ध मुद्दा दायर गर्ने तयारी गर्‍यो।



अरुणको वकिलले उसलाई सम्पत्तिको हकबारे कानुनी आधार खोज्न सुझाव दियो। "तपाईं उनीहरूको एक्लो सन्तान हुनुहुन्छ। नेपालको कानुन अनुसार तपाईंको पनि त्यो सम्पतिमा हक लाग्छ। हामी यो मुद्दा जित्न सक्छौं," वकिलले आत्मविश्वासका साथ भन्यो। अरुणले यो सुनेर ढुक्क भयो र चितवन फर्कियो, तर यो पटक मायाको नाटक लगेर चाही होइन, आफ्नो "हक" दाबी गर्न। उसले बुवाआमालाई भेटेर भने, "तपाईंहरूले मलाई मेरो हिस्सा दिनुभएन भने, म अदालत जान्छु। यो मेरो अधिकार हो।"



हर्का रामले अरुणको कुरा सुनेर शान्त स्वरमा भने, "अरुण, हामीले तँलाई माया गरेर हुर्कायौं, पढायौं। तर तैंले हामीलाई पैसाको लागि मात्र मायाको नाटक गरिस। यो सम्पत्ति हाम्रो मेहनतको फल हो, र हामीले यसलाई जे गर्न चाहन्छौं, त्यो हाम्रो अधिकार हो। तँ जे गर्न चाहन्छस्, गर।" यो जवाफले अरुण अझै रिसायो। उसले सोच्यो, "अब म उनीहरूलाई पाठ सिकाउँछु।"



मुद्दा अदालतमा पुग्यो। अरुणले आफ्नो बुवाआमाले सम्पत्ति लुकाएको र उसलाई वञ्चित गरेको आरोप लगायो। तर हर्का राम र देवी कुमारी पहिल्यै तयार थिए। उनीहरूको वकिलले अदालतमा प्रमाण पेस गर्‍यो—४० वर्षअघिको लगानीको कागज, ट्रस्टको दस्तावेज, र दानको घोषणा। वकिलले भने, "यो सम्पत्ति हर्का राम र देवी कुमारीको व्यक्तिगत हो, र उनीहरूले आफ्नो इच्छाअनुसार प्रयोग गरेका छन्।यसमा, अरुणको कुनै कानुनी हक छैन।" अरुणको वकिलले जित्ने कोसिस गरे पनि, हर्का रामको त्यो दूरदर्शी योजनाले उसलाई कुनै मौका दिएन। अदालतले अरुणको मुद्दा खारेज गरिदियो।



यो हारले अरुणलाई ठूलो धक्का दियो। उसले सोचेको थियो कि उसको बुवाआमाले उसलाई माया गरेरै भए पनि केही हिस्सा दिनेछन्, तर उनीहरूको दृढ अडानले उसको घमण्ड चकनाचुर भयो। ऊ काठमाडौं फर्कियो, तर त्यहाँ पनि उसको जीवनमा नयाँ मोड आयो। राधिकाले उसको हारको कुरा सुनेपछि बिस्तारै टाढिन फैसला गरिन्। "अरुण, मलाई यस्तो मान्छेसँग सम्बन्ध राख्न मन छैन, जसले आफ्नो परिवारसँग लडाइँ गरेर पनि केही हासिल गर्न सकेन," उनले चिसो स्वरमा भनिन्। केही दिनमै राधिकाले अरुणलाई आफ्नो अपार्टमेन्टबाट पनि निकालिदिइन्।



अरुण एक्लो भयो। उसको जागिर राम्रो थियो, तर उसको मनमा भएको शून्यताले उसलाई सधैं पिरोलिरह्यो। ऊ बारम्बार चितवनको नयाँ घरको बारेमा सुन्थ्यो—हर्का राम र देवी कुमारीले बनाएको त्यो आलिशान महल, जहाँ उनीहरू खुसीसाथ बसिरहेका थिए। उनीहरूले गाउँका लागि स्कूल बनाए, अनाथ बालबालिकालाई सहयोग गरे, र आफ्नो जीवनको उत्तरार्धमा सच्चा सुखको अनुभव गरिरहेका थिए। तर अरुण आफ्नै घमण्ड र लोभले सबैबाट टाढा थियो।



एक दिन अरुणले हिम्मत जुटाएर चितवन गयो। ऊ बुवाआमाको नयाँ घरको गेटमा उभियो। घरको सुन्दरता र शान्त वातावरण देखेर उसको मनमा पश्चातापको भावना अहिरहेको थियो। उसले धेरै बेर गेटमा उभिसके पछि, ढोका ढकढकायो। देवी कुमारीले ढोका खोलिन् र छोरालाई देखेर एकछिन अडिइन्। "आमा, म फर्किएँ। मलाई माफ गर्नुहोस्," अरुणले आँखाभरि आँसु लिएर भावुक हुदै भन्यो। हर्का राम पनि बाहिर निस्किए र भने, "अरुण, हामीले तँलाई कहिल्यै घृणा गरेनौं। तर तैंले हामीलाई पैसाको लागि मात्र सम्झियौ। अब यदि तँ साँचो मनले फर्किएको छस् भने, हाम्रो ढोका तेरो लागि खुला छ। तर यो सम्पत्तिको आशा चाही न राख्नु।"



अरुणले टाउको निहुरायो। उसले बुझ्यो कि उसले आफ्नो घमण्ड र लोभको कारण सबै गुमाएको छ। अब उसको अगाडि एउटा नयाँ बाटो थियो—आफ्नो गल्ती सुधार्ने र साँचो परिवारको मायामा रमाउने।


क्रमश: भाग-४

हजुरहरूलाई यो नेपाली कथा, nepali katha in nepali कस्तो लाग्यो जस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।


*

Post a Comment (0)
Previous Post Next Post